बुटवल-६
नेकपा एमाले लुम्बिनी प्रदेशले सांसद अजय शाही र विमला वलीलाई निष्काशन गर्नुको सट्टा सभामुखले आफै न्यायधीस जस्तो गरी दललाई पत्र पठाएको बताएको छ । सभामुख पूर्ण बहादुर घर्तीले सभामुख जस्तो गरिमामय पदमा आसिन रहेको अवस्थामा पद अनुकुलको आचरण नगरि प्रदेशसभाको गरिममा आँच आउने काम गरेको नेकपा एमाले लुम्बिनी प्रदेशसभाले जनाएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले पत्रकार सम्मेलनको आयोजना गरी संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० वमोजिम सभामुखले पद अनुकूल आचरण नगरेको जनाएको हो । प्रदेशसभा सचिवालयले एमालेलाई आज एक पत्र लेखि सांसद अजय शाही र बिमला वलीलाई सांसदबाट पदमुक्त गर्न नमिल्ने बताएको थियो ।
तर एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेठ १९ गते र जेठ ३० गते संसदीय दलको बैठकमा सहभागी भएको दाबी गरे । एमाले संसदीय दलको सदस्यका हैसियतले नै बैठकमा उनीहरु सहभागी भएको ढकालले दाबी गरेका छन ।
प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ । नेकपा एमाले शाही र वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
बैजनाथ चौधरीले सभामुख न्यायाधीस बन्न खोजेको आरोप लगाउँदै उनको राजीनामा नआएसम्म एमालेले प्रदेशसभा चल्न नदिने बताए ।
लुम्बिनी प्रदेश सभाका २ सदस्यलाई सभामुखले पदमुक्तको सूचना जारी नगरेकोमा एमाले संसदीय दलले आपत्ति जनाएको हो ।