भैरहवा, ६ भदौ
भारतीय ओभरलोड सवारीसाधनका कारण नेपाली व्यवसायी मर्कामा परेको भन्दै सडकमा सुतेर भए पनि ओभरलोड रोक्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । उनीहरुले भारतीय गाडीले ओभरलोड बोकेका कारण नेपाली गाडीले भाडा पाउन नसकेको गुनासो गरेका छन् । सरकारले ओभरलोड रोक्ने कार्यमा चासो दिन नसकेको उनीहरुको भनाइ छ ।
लुम्बिनी प्रदेश नेपाल ट्रक यातायात व्यवसायी समिति एवं ढुवानी व्यवसायी समितिले रुपन्देहीको ओमसतिया–२ पडसरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवसायीहरुले भारतीय गाडीको ओभरलोड, अस्वस्थ प्रतिष्पर्धाका कारण समस्या भएको बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी समितिका केन्द्रीय उपाध्यक्ष लोकराज पोखरेलले भारतीय गाडीलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले सरकारले भाडा समायोजन गरे पनि भारतीय गाडीसंग प्रतिष्पर्धा गर्न नसकेका कारण तोकिएको भाडा समेत लिन नसकेको बताए । ‘नेपालमा ५५ लाखमा पाउने गाडी भारतमा २८ लाख पर्छ, हामीले पुँजी बढी लगाउनुपरेको छ, टायर लगायतका सामान भारत र चीनबाट आउँछ, गाडीका सामग्री महंगोमा पाइन्छ, त्यसैले भारतीय गाडीसंग प्रतिष्पर्धा गर्न सकेका छैनौं, ’उनले भने । केही नेपाली व्यवसायीले पनि गाडीमा ओभरलोड बोकेर कम भाडामा जाने कारण स्वस्थ प्रतिष्पर्धा गर्ने व्यवसायीले मालसामान बोक्न नपाएको उनले बताए ।
नेपाल ट्रक यातायात व्यवसायी समितिका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले नेपाल सरकारले तोकेबमोजिम भाडा प्राप्त गर्न नसकेको बताए । उनले २०६८ पछि हालै मात्र भाडा समायोजन भए पनि भाडा प्राप्ती हुन नसकेको बताए । ‘भाडा प्राप्तीको प्रयास गर्नेबित्तिकै हामीलाई सिण्डिकेटको बिल्ला भिराइन्छ, तर सिण्डिकेट गर्ने हाम्रो कुनै मनसाय छैन, सरकारले तोकेको भाडादर पाउनुपर्छ भन्ने हाम्रो माग हो, ’उनले भने । एउटा सरकारी निकायले अर्को निकायलाई दोषारोपण गर्दा ट्रक यातायात व्यवसायीका समस्या समाधान हुन नसकेको उनले बताए । नेपाल सरकारको नियम व्यवसायीले मात्र मान्नुपर्ने हो भन्दै उनले प्रश्न गरे । उनले गाडीले बोक्ने सामानको बीमा हुनुपर्ने बताए ।
नेपाल ट्रक यातायात व्यवसायी समिति लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिने ट्रकको बीमा संस्थाले नव्यहोर्ने र संघ संस्थाबाट खारेज गर्नेसम्मको कदम चाल्ने जनाए । लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले आफूहरुमाथि बारम्बार सिण्डिकेटको आरोप लगाइएको गुनासो गरे । उनले भारतीय गाडीले सडकको क्षमता भन्दा बढी भार बोक्दा ठाउँठाउँमा भत्किएको बताए । ‘नेपाली ट्रक यातायात व्यवसायीमाथि अत्याचार भएको छ, ’उनले भने । ढुवानी व्यवसायी समिति रुपन्देहीका अध्यक्ष श्यामराज हमालले आफूहरुले परिश्रमको मूल्य पाउन नसकेको गुनासो गरे । ट्रक यातायात तथा ढुवानी व्यवसायीको माग सरकारले सम्बोधन गर्नुपर्ने समाजसेवी प्रख्यात बन्जाडे बताउँछन् । भारतीय सवारीसाधनले बोक्ने ओभरलोडका कारण नेपाली व्यवसायी मर्कामा परेकाले यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बन्जाडेको भनाइ छ ।