अनखबर
सामान्य बर्षा आउँदा पनि डुबानमा पर्ने परासी बजार हिजा रातीदेखीको निरन्तर बर्षाले थप डुबानमा परेको छ । शुक्रबार रातिदेखि परेको वर्षाका कारण पश्चिम नवलपरासीको जनजीवन प्रभावित बनेको छ। वर्षाको कारण जिल्लाको अधिकांश भूभाग जलमग्न भएको छ। जिल्लाको बर्दघाट, सरावल, प्रतापपुर, पाल्हिनन्दन, रामग्राम, सुस्ता, सुनवल लगायतका सबै पालिकाका बस्ती डुबानमा परेका छन्। सडक र घरभित्रैसम्म पानी भरिएर जलमग्न भएको छ।

झरही खोलामा आएको बाढीले परासी क्षेत्र डुबानमा परेको छ। त्यसैगरी, सुस्ताको बरुवा बजार पूर्ण रूपमा डुबानमा परेपछि स्थानीयबासी लत्ताकपडा, खानेकुरा, अतिआवश्यक कागजात लिएर कोटेश्वर मन्दिरको अग्लो स्थानमा पुगेका छन्। पाल्हिनन्दनका शंकरपुर, रामपुर खडौना, सरावलको डुबन्तापुर, पुसौली, भुजहवा र प्रतापपुरको वडा नम्बर ३ र ४ का गाउँ पनि जलमग्न भएका छन्। सुनवलको वडा नम्बर १० र ३ का गाउँ डुबानमा परेका छन्।
बाढीका कारण सुनवलस्थित तुरियाखोलाको पुल जोखिममा परेको छ। सुरक्षाकर्मीले उक्त पुलबाट सवारीसाधन आवतजावतमा रोक लगाएका छन्। बर्दघाट नगरपालिकाका पनि वडा नम्बर ४ को स्मृतिनगरमा रहेको मुसहर बस्ती डुबानमा परेको छ। त्यस्तै, वडा नम्बर ६, १०, ११ लगायतका बस्ती डुबानमा छन्।

पश्चिम नवलपरासीका प्रमुख धर्मेन्द्र कुमार मिश्रले बाढी र डुबानमा परेका बस्तीमा उद्धारका लागि राति साढे १ बजेदेखि नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाएको जानकारी दिए।वर्षाको कारण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसर पनि डुबानमा परेको छ।