भैरहवा-११
सबै बिहान भएकोले ब्युझि सकेका थिए । भैरहवा परासी सडक खण्डको सेमरहवाका पनि सबै जना नित्य कर्ममा लागेका थिए । बिहान करिब ६ बजे एक्कासी घरमा पानी पस्न थालेपछि सबै हतारिदै ज्यान जोगाउन भौतारिन थाले । कसैका खाट बग्न थाले, कसैका चौपाया ।

एक्कासी पसेको बाढीका कारण चौपाया र अन्य सामाग्री जोगाउने प्रयासमा प्राय सबैको अन्न भिजेको छ । आधा घर नै भरिने गरि आएको पानीका कारण अधिकांशका माटोको भकारी फुटेर अन्न नोक्सान भएका छन् । बाढीको कारण घरमा रहेका सबै खाद्यान्नमा क्षती पुर्याएको स्थानिय रमेश कुर्मीले बताए । “बिहानै बाढी घरमा पस्यो, न अन्न जोगाउन सक्यौ न त पशु नै ।” उनले भने । बाढीले सेमरहवाका मात्रै ३५ घर अति प्रभावित भएका छन् । प्राय कच्ची घरहरु रहेको सो टोलमा अधिकांश घरको केही भाग मात्र डुब्न बाँकी रहेको छ ।

सेमरहवाका सबै परिवार बिहानै देखी भोका छन् । बालबालिकाहरु पानीमै भोकै जोगिएर बसेका छन् भने चौपायाहरु समेत आधा भन्दा बढी डुबेर भोकभोकै डुबान कम हुने प्रतिक्षा गर्दैछन् । अहिले सम्म सो क्षेत्रमा यस्तो बाढी नआएको स्थानीयहरु बताउछन् । विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारणले रुपन्देहीका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । जिल्ला सदरमुकाम भैरहवा, तिलोत्तमा, मर्चवार तथा धकधई लगायतका दक्षिणका क्षेत्रहरु डुबानमा परेको छन् ।