बुटवल-१५
विगत एक सातादेखि बुटवल उपमहानगरको फोहाेर नउठ्दा शहर दुर्गन्धित भएको छ । उपमहानगरले फोहर उठाउँन छाडेपछि सडक तथा बजारहरुमा फोहर थुप्रिएका छन् । दैनिक ५३ टन बढी फोहर उत्पादन हुने उपमहानगरको फोहाेर व्यवस्थापन हुन नसक्दा स्थानीयहरुले खुला ठाउँ, खोला तथा नहरमा फोहर फाल्न थालेका छन् ।
बजारनै दुर्गन्धित हुने गरी फोहाेर थुप्रिएपछि स्थानीय तथा यात्रुहरुले समेत मुख थुनेर हिड्नु परेको भन्दै गुनासो आएका छन् । बुटवललाई डिजिटल र नमूना शहरको रुपमा विकास गर्ने लक्ष्य लिएको उपमहानगरले हालसम्म फोहाेर व्यवस्थापनको दिर्घकालिन समाधान खोज्न सकेको छैन । बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने फोहर व्यवस्थापनका लागि दिर्घकालिन योजना बनिरहेको बताउँछन् । यसैगरी तत्कालको समस्या समाधानका लागि पनि विकल्पको खोजी भइसकेको बताउँदै उनले अबको २/३ दिनमा बुटवलको फोहाेर उठ्ने बताए । रेग्मीको भनाई अनुसार बुटवल उपमहानगरको फोहाेर १० सम्म बजारमा थुप्रिएर बस्ने देखिएको छ ।
बजारमा थुप्रिएको फोहाेर वर्षासँगै लेदो बनेर सडकमा यत्रतत्र छरिँदा पैदलयात्रीहरुले सास्ती खेस्ती खेप्नु परेको छ । उपमहानगरले फोहाेर व्यवस्थापनलाई गम्भीरताका साथ नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । उपमहानगरले दिर्घकालिन व्यवस्थापन गर्न नसक्दा समय-समयमा यसैगरी बजार दुर्गन्धित हुने गरी फोहोर थुप्रिने गरेका छन् ।