अविरल वर्षापछि झरेको पहिरोको कारण बुटवल(तानसेन सडकखण्ड बिहीबार र शुक्रबार रातिको समयमा बन्द हुने भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका वडा नम्बर ८ तल्लो डुम्रेमा झरेको पहिरो पन्छाउन उक्त समयमा सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ।
गत बिहीबारदेखि परेको वर्षाका कारण तानसेन नगरपालिका(८ तल्लो डुम्रेमा पहिरो झरेपछि तीन दिनसम्म पूर्णरूपमा आवतजावत बन्द भएको थियो। सडक माथिबाट झरेको पहिरो हटाएर बुधबारदेखि एकतर्फी रूपमा सडक सञ्चालन गरिए पनि पहिरो हटाउन अझै बाँकी रहेकाले रातिमा सडक बन्द गरेर भए पनि पहिरो पन्छाउन लागिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म बुटवल–पाल्पा सडकखण्ड बन्द रहने छ।बन्दको समयमा एम्बुलेन्सलाई मात्रै चल्न दिने घिमिरेले बताए।
पहिरो ठूलो रहेकाले दुई दिनमा हटाउन नसकिए समय थप गरिने उनले बताए।