संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको खबर प्राप्त भएको छ । मादी नगरपालिका–१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’ जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए । मादी नगरपालिकाकी उपमेयर उर्मिला नेपाल सुवेदीका अनुसार टेकबहादुर कार्कीसहित उनका बुबा, श्रीमती, छोराछोरीलगायतको हत्या गरिएको खबर प्राप्त भएको छ ।