काठमाडौं-२४
एमसीसीका सम्बन्धमा नेपाल सरकारले उठाएको प्रश्नको जवाफ फर्काएको भोलिपल्ट (आज) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार नेपाल आउँदैछिन् । उपाध्यक्ष सुमार सहित नेपालको चारदिने भ्रमणका लागि आज नेपाल आउने टोलिमा नायव उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् । एमसीसीको उच्च अधिकारीहरुको टोलि विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं अवतरण गर्नेछन् ।
नेपाल सरकारले बिभिन्न ११ बुँदामा एमसीसीबारे अमेरिकी धारणा बुझ्न खोजेको प्रश्नहरुको जवाफ पठाएकी सुमार, जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट एमसीसीबारे छलफल गर्न उनी नेपाल आउन लागेकी हुन् । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी थिईन् ।
नेपालमा एमसिसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ ।
सुमारले पठाएको पत्रमा एमसीसी मार्फत नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, नेपालमा प्रचार भएजस्तो हिन्द प्रशान्त रणनीति रणनीतिअन्तर्गत नभएको, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पष्ट पारिएको छ ।
जवाफमा परियोजनाका लागि प्रयोग हुने जग्गामा पनि नेपाल सरकारको स्वामित्व कायम हुने स्पष्ट गरिएको छ ।नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसीसीबीच (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट उच्च तहमा पहिलोपटक यो भ्रमण हुन थालेको हो । भ्रमणलाई नेपालमा चासो र महत्वका साथ हेरिएको छ।
संसदबाट पारित गर्नु पर्ने भनिए पछि गिजोलिएका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।