अनखबर संवाददाता
नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध भोलि भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा विरोध जनसभा गर्दैछ । एमसीसी विरुद्धको विरोध सभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम तयार भएको नेकपाले अनखबरलाई बताएको छ ।

खुल्ला मञ्चमा हुने जनसभामा विप्लव लगायत ७ पार्टीका मोर्चा संगठनका नेताहरूले सम्बोधन गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा हुने MCC विरुद्धको प्रर्दशन तथा सभामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव,देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपि गजुरेल,नेकपा मालेका महासचिव सिपि मैनाली,बैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल(आहुती),
नेकपाका अध्यक्ष ऋषि कट्टेल,नेकपा माओवादी केन्द्रका अध्यक्ष कर्णजित बुढाथोकी र नेपालका लागि नेपालीका संयोजक सुरेन्द्र भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जानकारी दिए । २० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा लागि आजै मञ्च सजाउन लागिएको नेता लामाले बताए । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेको बताइएको छ ।

भोलि बिहान साँढे ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी १२ बजेदेखि जनसभा सुरु हुने आयोजक जनाएको छ ।

प्रचारप्रसार तथा प्रकाशन विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन‘ले पनि यो कार्यक्रम नेकपाको मात्र नभएर राष्ट्रिय स्वाधिनताको आन्दोलन समेत भएकाले सम्पूर्ण देशभक्ति, राष्ट्रप्रेमि प्रगतिशील शक्तिहरु र देशको स्वाधिनता रक्षा गर्ने नागरिक र मिडियाकर्मीहरुलाई जनसभामा सहभागि हुन आह्वान गरेका छन् ।