नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले अमेरिकी साहायता परियोजना एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताविरुद्ध भएको दावी गरेका छन्।
‘एमसीसी सम्झौता जबरजस्ती लादिदै छ,’ राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले भने,‘हामीमाथि प्रतिवन्ध लागेकै बेला हामीले त्यो सम्झौता पुरै पढ्यौं । एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता, सर्वभौमिकताको विरुद्धमा छ ।’सम्झौतामा एमसीसी नेपालको कानूनसँग बाँझिएमा एमसीसीमा लागू हुने उल्लेख भएको दावी गर्दै उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो लागिने लागेको बताए।‘यो सम्झौता कसको हितमा गरिदै छ ?,’ उनको भनाइ छ, ‘अमेरिकाको राष्ट्रिय सुरक्षाका निम्ति यो लागू गरिदै छ । अमेरिकाको राष्ट्रिय सुरक्षा चुनौतीको संरक्षणका लागि एमसीसी अघि सारिएको हो।
विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताएका छन् । एमसीसीविरुद्ध नेपाल कम्युनस्टि पार्टीले आज काठमाडौँको खुलामञ्चमा आयोजना गरेको सभामा सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले एमसीसी नेपाली जनता र देशका विरुद्धमा रहेकाले यसको खारेजीका लागि सिङ्गो देश आन्दोलित बनेको बताए ।
विरोधसभाका प्रमुख वक्ता रहेका महासचिव विप्लवले नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर दलालहरूविरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए । जनताको व्यवस्था स्थापना गर्न र दलाल सत्ताका विरुद्ध आफूले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको उनको भनाइ थियो । नेपाली दलालहरूले आफ्नो निहित स्वार्थका लागि जनताको रगत–पसिना र राज्यको सम्पत्ति लुटेको महासचिव विप्लवले बताए ।
देशको सत्ता दोहन गर्नेहरूले क्रान्तिकारी आन्दोलन अगाडि बढाइरहेको आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर जनताको आन्दोलनमा अङ्कुश लगाएको विप्लवले बताए । राष्ट्रिय स्वाधीनताको आन्दोलन अगाडि बढाउँदा आफ्नो पार्टीले चरम दमन, झूट्टा मुद्दा र यातनाको सामना गरेको पनि उनले बताए । जनतामा विश्वास गर्ने र जनतामा टेकेर अगाडि बढेको आफ्नो पार्टी राष्ट्रिय स्वाधीनताका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्न उनले बताए । जनताको तागत र क्रान्तिकारी आन्दोलनले यहाँका दलालहरूलाई परास्त पार्ने उद्घोष गर्दै महासचिव विप्लवले आफ्नो पार्टी जनताको शक्तिमा विश्वास गर्ने प्रस्ट पारे । उनले बन्दुकभन्दा जनता र पत्रकारको क्यामेरा बलियो हुने धारणा पनिराखे ।
नेपालमा एमसीसी सम्झौता जबर्जस्ती लादिएको भन्दै विप्लवले यो देश र जनताको हितविरुद्ध रहेकाले तत्काल खारेज गर्नुपर्ने बताए । उनले जुनसुकै मूल्य चुकाएर पनि एमसीसी खारेज नभएसम्म यसका विरुद्ध आन्दोलन अघि बढाउने बताए । उनले भने, ‘एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ । एमसीसी जनताका विरुद्ध छ । नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानिस्तान र सिरिया बनाउनेछ । जनता सार्वभौम हुने व्यवस्था स्थापना गर्नका लागि जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्छ ।’
महासचिव विप्लवले देशको माया हुने हरेक नागरिकले एमसीसीका विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि मूल्यमा नेपाली जनतामाथि एमसीसी थोपर्न दिनेछैनौँ ।’
विप्लवले भने, ‘सरकारसँग ३ बुँदे सहमति गरेर हामीले उक्त सहमति इमानदारीपूर्व पालना गर्योँ तर राज्यले उक्त सहमति इमानदारीपूर्वक पालना गरेको छैन । अहिलेसम्म हाम्रा साथीहरूका मुद्दाहरू खारेज गरिएको छैन । देशको भविष्य आँखामा सजाएर हिँडेका नेता–कार्यकर्ता र युवाहरूलाई सरकारले दमन गरेको छ । हाम्रो देशका नागरिकलाई जिउँदै महाकाली नदीमा बगाउने शासकहरूका विरुद्ध आन्दोलन गर्दा सरकारले हामीलाई जेलमा लगेर सडाउँछ भने हामी एउटा ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ ।’