नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पार्टीभित्र पिलो भएको बताउँदै पिलो निचोरिएको टिप्पणी गरेका छन् । उनले पिलो निचोरिदैमा शरिरको ओजन नघट्ने भन्दै एमाले फुटेको वा विभाजन भएको नभई केही पार्टीविरोधी तत्वहरु चोईटिएको टिप्पणी गरे ।
बुधवार बुटवलमा आयोजित रुपन्देहीका बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले तत्कालिन एमाले सरकारले गरेको कामबाट प्रतिपक्षहरु आत्तिएको बताए । उनले सयौं सडक, सयौं अस्पताल , भूमिसुधार आयोग लगायतका पूर्वाधार निर्माणहरुलाई सरकारले खारेज गरेकोप्रती ओली आक्रोश व्यक्त गरे । सरकारले जनताको समृद्धिको सपनासमेत रोकेको भन्दै ओलीले भने,‘हामीले शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो । हाम्रो सरकार तिव्र विकासको गतिमा अगाडि बढेको थियो । तर, अहिले हेर्नुस त २ महिना भयो मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।’
तत्कालिन शेरबहादुर देउवाको सरकारले केही काम गर्न नसकेको भनदै उनले सरकार नभई बुख्याँचा भएको टिप्पणी समेत गरे उनले भने ‘यो सरकार बुख्याँचा होकि सरकार ?, बुख्याँचाले बरु चरा धपाउँछ तर, यो सरकारले त त्यहीपनि सक्दैन । गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उनले शेरबहादुर देउवा नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको बताए । ‘यो सरकारले विकासका काम देख्नै सक्दैन । हामीले गरेका नियुक्त खारेजी गरेर आफ्ना अयोग्य व्यक्ति नियुक्त गरेको छ । हामीले शिलान्यास गरेका सडक ,स्वास्थ्य जस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको छ । २ महिनासम्म २÷४ जनाले चलाएको सरकारले जनताका लागि के गर्न सक्छ र ? ’ उनले प्रतिपश्न गरे ।
बजेटको प्रसंगमा बोल्दै अध्यक्ष ओलीले आजै मध्यरातबाट बजेट पास गर्ने अवधी सकिएको बताउँदै भोलीदेखी सरकार बेखर्ची हुने बताए । बर्तमान सरकारले बजेटबारे न्युनतम निती र विधी समेत थाहा नपाएको भन्दै आफ्नै कारणले सरकार संकटमा फसेको बताए ।
पार्टी फुटाएर गएका माधव नेपालप्रती टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले माधव नेपाल हिजोपनि एमाले नभएको र कहिल्यै एमाले हुननसक्ने बताए । उनले भने ‘माधव नेपालले हामी सरकारमा हुँदा हामीले गरेका राम्रा काम कहिल्यै देखेनन् ।, प्रचण्ड बरु अगाडी बढ्न नसक्दा माधवले उचालेर आफ्नै सरकार ढलाएको सम्झदैं उनले अब माधव नेपालहरु मात्रै होईन प्रचण्डहरुले पनि वडा अध्यक्ष पनि नजित्ने टिप्पणी गरे ।
यस्तै एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले विभाजित गर्ने प्रयास असफल भएको भन्दै पार्टीभित्रका स्वार्थी तत्वहरु पाखा लागेको टिप्पणी गरे । उनले नेकपा (एकिकृत समाजवादी) का अध्यक्षको पछी लागेको झुण्ड छिट्टै विलय हुने बताएका थिए । पौडेले माधवले आफ्नै राजनीति सिद्धाउन यस्तो विचार र सिद्धान्त विना पार्टी फुटाउनु उनको आत्मघाती निर्णय भएको बताए । कार्यकर्ता भेलामा पार्टीका उपमहासचिव घनश्याम भुषाल, नेता टोपबहादुर रायमाझी लगायतले सम्बोधन गरेका थिए ।