स्याङ्जा -३०
नेकपा (एमाले) स्याङ्जाले जिल्ला सदरमुकाममा रहेको सिटी हलमा  जिल्ला स्तरको  बृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

भेलालाई एमालेका २ केन्द्रीय सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईले सम्बोधन गरेका छन् ।
जिल्लाका झण्डै  ९ सय नेता कार्यकर्ताको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पुर्व मुख्यमन्त्री समेत रहेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी एक ढिक्का बनाएर अगाडि बढ्ने दाबी गरेका छन् ।

गुरुङले एमाले छाडेर जाने माधवकुमार नेपाललाई लक्षित गर्दै फुटेर जानेहरूको इतिहास कहिल्यै सुखद् नभएको टिप्पणी समेत गरे ।
पार्टी अध्यक्ष केपी ओलीका केही शैलिगत त्रुटी भएको स्विकार्दै उनले बृहत कम्युनिस्ट वामपन्थी एकताको सम्भावना बारे समेत टिप्पणी गरेका थिए ।

कार्यक्रममा अर्का सचिव योगेश भट्टराईले नयाँ र उर्जाशिल पार्टी बनाउन गतिशील र बौद्धिक युवाहरूको भुमिका आवश्यक पर्ने टिप्पणी गरे ।
कार्यक्रममा नेकपा एमाले  पोलिट्ब्युरो सदस्यद्वय जगत विश्वकर्मा र खगराज अधिकारी,केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पद्मा कुमारी अर्याल,केन्द्रीय सदस्य सीता सुन्दास लगायतको उपस्थिति रहेको नेकपा एमाले जिल्ला अध्यक्ष पारस गैरेले अनखबरलाई बताए । माधवकुमार नेपालले छुट्टै पार्टी गठन पछि एमालेले जिल्लामा पहिलो पटक यस्तो भेला गरेको हो । यस अगाडि नेपाल पक्षमा देखिएका शोभियत ढकाल,सन्तोष केसी लगायतका जिल्लाका नेताहरू समेत उक्त कार्यक्रममा सहभागी भएको बुझिएको छ ।

ढकाल र केसी लामो समयदेखि नेपाल पक्षको रुपमा चिनिदै आएका थिए । यस्तै  नेपाल पक्षीय जिल्ला सचिव भनिएका गल्याङ नगरपालिकाका प्रमुख समेत रहेका भुपराज अधिकारी पनि ओली खेमामा लागेको बुझिएको छ ।