बुटवल । पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने ब्यक्तिको पहिचान खुलेको छ । मेयर सुवेदीमाथि मुक्का प्रहार गर्न स्थानीय पहिरो पीडित गणेश पङगेनी रहेको पुष्टि भएको छ । उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।
बुटवलको ज्योतिनगर आसपासमा गएको पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिका मेयर सुवेदीलाई आज पङगेनीले मुक्का प्रहार गरेका थिए ।
रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक लिएर प्रमुख सुवेदी प्रभावित क्षेत्रमा पुगेका थिए ।
पहिरोका कारण घर पूर्ण रुपमा क्षती भए पछि मुक्का हान्ने पहिरो पीडित गणेश सहित उनका पिता नुरुप्रसादको परिवार आफन्तीको बस्दै आएका छन् । पङेगनीको परिवारमा ५ जना रहेको छन् । पहिरोबाट घर लगायत घरमा भएका सबै साम्रगी पूर्ण रुपमा क्षति हुँदा समेत राज्यले राहत वितरण नगरेको भन्दै ज्योति नगरबासीले पनि मेयर सुबेदीसँग आक्रोश पोखेका थिए ।