स्याङ्जा, ४ असोज । नेकपा एमालेका सांसद एवं विवादास्पद पुर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्याङ्जाको चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरीलाई जहाँ गए त्यहीँ टाउको फुटाउने जनप्रतिनिधि भन्दै कटाक्ष गरेका छन् ।
नेकपा एमाले चापाकोट नगर कमिटीले आयोजना गरेको अगुवा भेला कार्यक्रममा सम्बोधन गर्दै बाँस्कोटाले मेयर जहाँ पुगे त्यहीँ टाउको फुटाउने,जनताको सेवक यस्तो के गरेको जहाँ गयो त्यहीँ ढयाङ् र ढुङ् पार्ने भन्दै प्रश्नमुलक कटाक्ष गरेका छन् ।
बाँस्कोटाले तपाईंहरुको सपना माथि कुठाराघात गर्ने जनप्रतिनिधिलाई अबको चुनावमा नजिताउन समेत अपिल गरे ।
उनलेे गुन्डागर्दी र कुटपिट काङ्ग्रेसको चरित्र र स्वभाव भएको भन्दै आलोचना समेत गरे । देउवा सरकारले नेताको घरपरिवार र आफन्त नातेदारलाई तक्मा बाँढेको टिप्पणी समेत गरेका छन् ।
सोमबार स्याङ्जाको चापाकोटमा गरिएको एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त प्रतिक्रिया दिएका हुन ।
साथै नेता बास्कोटाले ओली सरकारले जनतालाई आवश्यक खोपको व्यवस्था गरिसकेकाले देउवा सरकारले वितरण मात्रै गरेको जनतामा भ्रम सृजना गरी भुलाउने काम मात्रै गरेको बताए ।
बांस्कोटाले ‘४२ लाख जनताको स्वास्थ्य विमा गराउने ओली सरकारप्रति जनता खुसी छन् । वर्तमान सरकारले मन्त्रीमण्डललाई पुर्णता दिन सकेको छैन् । यो सरकारबाट जनतालाई कुनै आशा छैन् ।’
कार्यक्रममा सम्बोधन गर्दै पुर्व मन्त्री पद्मा कुमारी अर्यालले ओली सरकारले सुखी नेपाली समृद्ध नेपालको आधार तयार गरेको जिकिर गरिन् ।