अनखबर
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीका ५ वटा स्थानीय तहमा सर्वसम्म नेतृत्व चयन भएको छ । नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तह मध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
मतदान अधिकृतहरुका अनुसार गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोह्मद सहित खाँ, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी सहित सबै टिम निर्बिरोध निर्वाचित भएको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।
गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा महाधिवेशनको कार्यतालिका अनुसार शनिबार पालिका अधिवेशन भएको हो । ११ मध्ये हालसम्म रोहिणीको मतगणना सकिएर परिणाम समेत आईसकेको छ, जसमध्ये सभापतिमा तारकनाथ योगी निर्वाचित हुनु भएको छ । शनिबार नै सम्पन्न अधिवेशनबाट अर्का उम्मेदवार ईकवल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित हुनु भएको हो । रोहीणी गाउँपालिकाका अन्य पदमा भने सर्वसम्मत भएको थियो ।
कुल १२५ क्षेत्रीय प्रतिनीधि रहेको रोहिणीमा सभापतिमा निर्वाचित योगीले ७० मत प्राप्त गर्नुभएको थियो भने अर्का उम्मेदवार खाँले ५४ मत प्राप्त गर्नुभएको मतदान अधिकृत टिकाराम शर्माले जानकारी गराउनु भयो । उहाँका अनुसार १ मत बदर भएको थियो । अन्य बाकी पालिकामा केही समयमा मतगणना हुने निर्वाचन अधिकृतले जानकारी दिए ।