बुटवल-१०
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ प्रदेश सरकारले जारी गर्ने गरी प्रस्तावका रुपमा लगेको प्रदेश सञ्चार विधेयक सबैको राय पराशर्मबाट सञ्चार मैत्री विद्येयक निर्माण गरिने बताएका छन्। उनले सबैले यस विधेयकमा अझै व्यापक बहस गरी अगाडि बढेमा दिर्घकालिन रुपमा विधेयकको अर्थ र मर्म बोध हुने बताए।

नेपाल पत्रकार महासंघले आइतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार वितरण तथा आधारभुत पत्रकारिता प्रशिक्षण समापन समारोहमा बोल्दै मुख्यमन्त्री केसीले भने ‘हामीले संशोधन गरेर जादाँ नै उपयुक्त देखेका छौं, तपाइँहरुले पनि यस विषयमा व्यापक बहस गर्नुहोस् अनि के गर्दा सबैको हित हुन्छ त्यसै गरौँला ।’ उनले लुम्बिनीलाई सञ्चार मैत्री प्रदेश निर्माण गर्नका लागि आफू लागेको बताउँदै त्यस प्रकारको सरकारको अभियानमा सबैले हातेमालो गर्नका लागि अपिल समेत गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल,निवर्तमान अध्यक्ष गोविन्द आचार्य , महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी,डाक्टर बालकृष्ण , महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का,प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी ,लगाएतले बोल्दै सरकार मिडियामैत्री बन्नुपर्ने बताउँदै कोभिडले थला परेको सञ्चार क्षेत्रको पुर्नउत्थान गर्नुपर्ने बताए।

कार्यक्रममा उत्कृष्ट वातावारण पत्रकारिताबाट पत्रकार टोपराज शर्मालाई सम्मानित गरिएको थियो । त्यसैगरी पत्रकार डाः बालकृष्ण चापागाँईलाई लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार ’ विषयमा विद्यावारिधि गरेकोमा सम्मान गरिएको थियो।

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार वितरण तथा आधारभुत पत्रकारिता प्रशिक्षण समापन समारोहमा एकहफ्ता प्रशिक्षण लिएका ४० जना बढी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रम पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता,उपाध्यक्ष विश्वास ढकालको स्वागत मन्तव्य र सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।