अनखबर
भैरहवास्थित निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा साढे २ अर्व बढी मुल्य पर्ने बुद्धको प्रतिमा राखिने भएको छ । लुमिबनी गार्डेन फाउण्डेशनको सहयोगमा रुपन्देहीको भैरहवास्थित अन्तराष्ट्रिय विमानस्थलमा सो मुर्ती राखिन लागेको हो । ‘हवाइट जेड’ धातुबाट निर्मित उक्त मुर्तिलाई अनावरण राष्ट्रपति विद्यादेवी भण्डारीले कार्तिक १४ गते गर्ने लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ ।
म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्धमूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहल तथा नेपाल सरकारको स्वीकृतिमा राखिने भएको हो । बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत कार्यक्रममा सहभागी रहनेछन् ।
सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले एक सय १० हेक्टर जमिनमा स्पेनमै बनाउन लागेको बुद्ध मूर्तिसहितको पार्कका लागि म्यान्मारका खानी उद्योगीले सो बहुमूल्य धातुजडित मूर्ति दिने कुरा भएको थियो । उक्त बुद्ध मूर्ति एक दशमलव नौ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लगाएतको टोलीले स्पेनको एक कार्यक्रममा भाग लिन गएका बेला मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो । अन्तराष्ट्रिय विमानस्थल सुचारु भएसँगै त्यसले लुम्बिनी लगायतको पर्यटकीय क्षेत्रमा पर्यटकहरुको आवागमन बढाउने विश्वास लिईएको छ । लामो समयको कोभिडको कारण धरासायी भएको पर्यटकीय क्षेत्र विस्तारै उघारिँदैछ, अन्तराष्ट्रिय विमानस्थलमा राखिने यो बुद्धप्रतिमाले त्यहाँ आउने पर्यटकहरुलाई लुम्बिनीतर्फ थप आकर्षित गर्नेछ ।