सुनसरी-२४
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर इनरुवा तनावग्रस्त बनेको छ ।
अभद्र व्यवहार मुद्दामा थुनामा रहेका भोक्राहा ५ का मोहम्मद हकिव साहको हिरासतभित्रै मृत्युभएपछि उनका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण गरेको थियो । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको थियो ।
प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि प्रहरीले प्रर्दशनकारीलाई लखेटेको हो । त्यसक्रममा प्रहरीले आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको थियो । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् ।
आक्रोशित प्रदर्शनकारीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।
प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको उनीहरुको आरोप छ । तर पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् ।