अनखबर बुटवल । राष्ट्रपति भण्डारीबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्बभन्दा बढीको बुद्ध मूर्ति अनावरण भएको छ। बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्तिको आइतबार राष्ट्रपति भण्डारीले अनावरण गरेकी हुन्।
बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले २५ सय बर्ष अगाडी जन्मिएर विश्वलाई सन्देश छोडेर गएका भगवान गौतम बुद्धको सन्देश आजपनि उत्तिकै सान्दर्भिक रहनुले विश्वमा शान्तिको आवश्यकता बढ्दै गएको बताईन्, उनले लुम्बिनीलाई विश्वको ध्यान, योग, शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउन जरुरी रहेको बताईन् । उनले बुद्धका उपदेश अनुशरणबाटै विश्वमा शान्ति कायम हुन सक्ने भएकाले सबैले आफ्नो जीवनमा अनुशरण गर्ने र विश्वभर पु¥याउनुपर्ने धारणा राखिन् । लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न लुम्बिनी गुरुयोजना छिटो पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाई विदेशी पर्यटक, अध्ययन अनुसन्धानकर्तालाई आकर्षित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । यस्तै बुद्धमूर्ति अनावरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल अविलम्ब सञ्चालनमा ल्याउन निर्देशन दिए । उनले तत्काल क्यालिबे्रसन फ्लाईट गरी अन्तराष्ट्रिय उडानको लागी तयार रहेको सन्देश दिनुपर्ने बताए ।
यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना, स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो, लुम्बिनी गार्डेन नेपालका प्रमुख गोविन्द सुवेदी लगायतले बोलेका थिए । उक्त मूर्ति साता दिनअघि म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट रुपन्देही ल्याइएको थियो। लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा ल्याइएको मूर्ति एक हजार ८ सय किलोग्राम छ।
साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो तथा उचाइ १.९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ ।
बहुमुल्य धातु ‘ह्वाइट जेड’बाट बनेको उक्त मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो । उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।