नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा इन्धनको विकल्पमा विद्युतीय सवारीलाई प्राथमिकत दिनुपर्ने बताएका छन् । डिजल, पेट्रोल लगायत ग्यासहरुको मुल्य बृद्धि भैरहेको बेला उनले विद्युतीय साधनहरुको प्रयोगले आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताएका हुन् ।
बुटवलस्थित क्षेत्रीय विद्युत प्राधिकरणको कार्यालयमा पुगेका घिसिङले पत्रकारहरुसँग कुरा गर्दै प्राधिकरणले देशैभरी ५० भन्दा धेरै विद्युत चार्जिङ स्टेशन निर्माण गर्न लागेको जानकारी दिए । घिसिङ्गले निजी कम्पनीहरुले समेत चार्जिङ स्टेशन खोल्न चाहेमा प्राधिकरणले सहजै अनुमति दिनेसमेत उद्घोष गरे ।
यस्तै घिसिङले देशभरी उद्योगहरुलाई चाहिनेजती विद्युत आपूर्ती गर्न प्राधिकरण सक्षम रहेको समेत बताए । कुलमानले भने,‘औद्योगिक करिडोरहरुलाई चाहिने विद्युत हामीले उपलब्ध गराउने छौं।’ सवस्टेशन निर्माण र ट्रान्मिसन लाईनहरुको विस्तार भईरहेको र भारतलाई समेत उपलब्ध विद्युत बेचिरहेको घिसिङको भनाई थियो । घिसिङले विद्युतलाई सकेसम्म नेपालमै आपूर्ती गर्ने र बाकी रहेमात्रै भारतलाई बेच्ने बताए । उनले उद्योगीहरूलाई परेको ट्रंक लाइनको विषय पनि प्राधिकरणले समाधान गर्नेतर्फ छलफल केन्द्रित गरेको बताए ।