मूल्यवृद्धिविरुद्ध नेपाल बन्दलगायत आन्दोलनमा उत्रिएका नेकपाका नेता–कार्यकर्तालाई सरकारले व्यापक मात्रामा गिरफ्तार गरेको छ । काठमाडौँ, ललितपुर, काभ्रेलगायत देशका विभिन्न जिल्लामा नेकपाका नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका थप समाचारहरू प्राप्त भएका छन् ।
प्राप्त समाचारअनुसार प्रहरीले ललितपुरबाट नेकपा ललितपुरका सेक्रेटरी रमेश डङ्गोल, काठमाडौँ कालीमाटीबाट श्रमिक समुदाय मोर्चा काठमाडौँ सदस्य राज गजमेर र जमलबाट अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सदस्य एवम् पशुपति क्याम्पस अध्यक्ष सुवास महतलाई गिरफ्तार गरेको छ ।


नेपाल बन्दका क्रममा सरकारले पैदल यात्रुलाई पनि गिरफ्तार गर्न बाँकी राखेन । प्रहरीले काठमाडौँ क्षेत्रपाटीबाट नेवाः मोर्चा काठमाडौँका अध्यक्ष दीपक मानन्धर र सङ्घर्षलाई पनि गिरफ्तार गरेको छ । बाफलमा चारजना पैदलयात्रुलाई पनि प्रहरीले गिरफ्तार गरेको समाचारमा जनाइएको छ ।


त्यस्तै साँखु र महाराजगन्जबाट नेकपाका ६ जना गिरफ्तार भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार बस्नेतले नै पुष्टि गरेका छन् । गिरफ्तार हुने अन्यमा रामकृष्ण गिरी, भुवन तामाङ, सुकबहादुर तामाङसहित ६ जना छन् ।
पार्टी केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज आधार र युवा सङ्गठनकी महासचिव विदुषी, नेकपा कास्कीका सदस्य एवम् कार्यालय सचिव काजी गुरुङ, अखिल ९क्रान्तिकारी० पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलगायत गिरफ्तार भएको समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो ।


यस्तै नेकपा अर्घाखाँचीका ७ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मनु गिरि, सागर पुन, कर्णबहादुर राना, होमबहादुर केसि, सन्तोष काउचा, देबेन्द्र पुन, नारायण महरा, मकर सुनार, शंकर घर्ती, पूर्णबहादुर राना, सन्तराज खत्री, पूर्णबहादुर महरा रहेका छन् । नेपाल बन्दका क्रममा अर्घाखाँचीका बजार, ब्यवसायी, स्कुल क्याम्पस, यातायात , उद्योग बन्द रहेका छन् । उनिहरूलाई भालुबाङ ईलाका चौकीमा राखेको छ नेकपा विहानैदेखि शान्तिपूर्ण रुपले पेट्रोलियम पदार्थ र खाद्यबस्तुमा बढाएको चर्को मूल्यवृद्धि विरुद्ध नारा लगाएका छन् । सडकहरुमा गाडीहरु चलेका छैनन् । लामा र छोटा दुरीका सबै यातायातका सवारी साधनहरु बन्द रहेका छन् ।
बन्दकर्ताहरु राजमार्ग र बजार क्षेत्रमा बसेर मूल्यवृद्धिबारे जनतालाई सचेत गराइरहेका छन् । नेपाल बन्दको समर्थन गर्दै मजदुर, किसान, सुकुम्बासी, विद्यार्थीलगायत सडकमा उत्रिएर मूल्यवृद्धि विरुद्ध नारा लगाइरहेका छन् ।
बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडीलाई सञ्चालन हुने दिने नेकपाले बताएको छ । बन्द साँझ ५ बजेपछि खुल्ने समेत नेकपा स्रोतले बताएको छ ।