काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।पार्टी एकताका लागि प्रचण्डले आग्रह गरिरहेका बेला विप्लवसँग छलफल भएको हो । नेकपाले‘ मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको’ जनाएको छ ।

भेटमा महासचिव विप्लवले मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिनका लागि नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने,प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रहका तयार गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
भेटमा माओवादी केन्द्रका तर्फबाट प्रवक्ता कृष्णबहादुर महरापनि सहभागि थिए । केही दिन अघि मात्रै प्रचण्डले विप्लवसँग पार्टी एकता गरेर हात मिलाउन प्रतिक्षारत रहेको बताएका थिए ।
माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।
‘स्रोतले भन्यो, ‘तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी उहाँहरूबीच भएको छ ।’
तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनी वैद्यबाट पनि अलग भए । उनले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।
तर भूमिगतरुपमा बम विष्फोट, व्यक्ति हत्या लगायतका गतिविधि गरेपछि तत्कालीन सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पछि सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए ।