अनखबर / भैरहवा
रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् ।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृत फेला परेका हुन् । उनी निवासमा झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।
‘उहाँको परिवार काठमाडौंमा भएकाले नपुगुञ्जेल ढोका खोलेका छैनौं’ उनले भने, ‘भित्रबाट ढोका लगाएको अवस्थामा उनलाई मृत फेला पारिएको हो ।’प्रहरीका अनुसार उनी शुक्रबार बिहान जिम गरेर कोठामा बसेका थिए । खाना खाने वेलासम्म नआएपछि हेर्न जाँदा मृत अवस्थामा देखिएका थिए ।

यादव नेपाल प्रहरीमा २०४९ चैतमा प्रहरी निरीक्षकबाट प्रवेश गरेका थिए । उनको ब्याचका दुई जना विश्वराज पोखरेल र सहकुलबहादुर थापा हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् ।तर यादव चाहिँ एसएसपीको ५५ वर्षे उमेर हदका कारण आगामी १५ माघमा अवकाश पाउँदै थिए । एसएसपी कुँवर भन्छन्, ‘हालसम्म उहाँको मृत्युको कारण खुलिसकेको छैन, परिवार पुगेसँगै विस्तृत अनुसन्धान हुन्छ ।’