नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।स्रोतका अनुसार बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिए ।
उनले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरे । उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’
तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उनले बताए ।कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ थियो ।