बुटवल
तिनाउ र दानव नदी किनारमा भइरहेको करिडोर निर्माणको काम रोक्न माग गर्दै बुटवलमा नारा घन्किएको छ । करिडोर क्षेत्रका स्थानीयले आफूहरुलाई सहि व्यवस्थापन नगरि करिडोर निर्माण गर्न लागेको भन्दै बुटवल उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका छन् ।

दानव नदी करोडर क्षत्रका विभिन्न टोलका स्थानीयहरुले आइतबार बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि धर्ना दिएका छन् ।  उनिहरुले ‘कोरिडोर चाहिँदैन, सुकुम्बासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

बुटवल उपमहानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको तिनाउ र दानव नदी करिडोरको ठेक्का सम्झौता भएको लामो समयपछि कार्यान्वयनको चरणमा गएपनि स्थानीयले अबरोध सिर्जना गर्न थालेपछि रोकिने अवस्थामा पुगेको छ । गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरी तत्कालै काम अघि बढाउन निर्देशन दिए पनि घर–जग्गा व्यवस्थापनको टुङ्गो नलाग्दा अन्यौलमा पर्दै आएको छ ।

तिनाउ नदी र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि नदी किनारमा सडक निर्माणको काम सुरु गर्नुपर्ने भएपनि त्यस क्षेत्रमा पर्ने घर, टहराहरुको व्यवस्थापन नहुँदा यो समस्या सिर्जना भएको हो ।

करिडोर क्षेत्रभित्रका सबै घर–टहरा तथा जग्गाका समस्याहरु समाधान गरेर मात्रै निर्माणको काम सुरु गर्नु पर्ने आफूहरुको माग रहेको संघर्ष समितिका संयोजक आत्मबहादुर रानाले बताए । डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ । पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र बनाइनेछ । त्यसको छेउमा ७/७ मिटरको दुई लेन सडक हुनेछ । सडकको छेउमा फुटपाथ बनाइनेछ ।

बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले करिडोर क्षेत्रमा पर्ने बस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको बताए । विकासको काममा कसैले पनि अवरोध गर्न उचित नहुने बताउँदै उनले करिडोर प्रभावित जनताका मागलाई उचित रुपले सम्बोधन गरिने बताउँदै आएका छन्