काठमाडौं । सत्तारुढ गठबन्धनबीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ । केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो सहमति गरेको हो ।
संवैधानिक व्यवस्था अंगीकार गरेर अगाडि बढ्न सबै सहमत भएको एक नेताले बताए । यसबारे थप छलफल गर्न विहीबार फेरि बैठक बस्ने बताइएको छ ।
बैठकमा राष्ट्रिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनबारे सैद्धान्तिक छलफलमात्रै भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।
गुरुङले कोभिडका कारण माधव नेपाल, उपेन्द्र यादवलगायतका शीर्ष नेता समेत अनुपस्थित भएकाले मितिबारे अर्को बैठक राखेर छलफल गरेपछि मन्त्रिपरिषदबाट निर्णय हुने बताए । ‘पहिले आफ्ना दलमा आन्तरिक छलफल गरेर एकपटक पुनः शीर्ष तहमा बसेर मितिबारे टुंगो लगाउने सहमति भएको छ,’ उनले भने।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि समयमै स्थानीय तहको निर्वाचन हुने बताए । बैठकबारे जानकारी गराउँदै उनले भने, ‘संविधानले तोकिएकै समयमा स्थानीय निर्वाचन गरेर संघीयतालाई मजबुत गराउँदै स्थानीय सेवा प्रवाह गर्ने कुरामा हामी सचेत छौं । समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।’