काठमाडौं । नेपालमा विद्यार्थी राजनीतिबाट उदाएका कुनै समय लोकप्रिय नेताहरू अहिले निकै बदनाम छन् । बदनामी हुनेमा अधिकांश दोश्रो पुस्तका र युवा नेता नै छन् ।उनीहरू विभिन्न ‘काण्ड’मा फसेका कारण जनस्तरमा उनीहरूलाई रुचाउन छोडिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका ‘हाइप्रोफाइल’ नेताहरू विवादको घेरामा छन् ।
योगेश भट्टराई
एमाले सचिव तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई पदमा रहँदादेखि नै विवादमा परे । बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा निर्माण गरेको रेष्टुरेन्टका कारण विवादमा फेरि एकपटक उनको राजनीतिक ‘नैतिक धरातल’ स्खलित भएको छ ।
एमालेका सबै हाइप्रोफाइल विवादमा परेका हुन् । कुनै समय कार्यकर्ताले मात्रै होइन, जनताले पनि आशा गरेका नेता योगेश भट्टराई २०५५ जेठमा एमाले विद्यार्थी संगठनका ५७ जना कार्यकर्ताको नेतृत्व गर्दै भट्टराईले मेची–महाकाली मार्चपार्स गरेका थिए ।
त्यस टोलीले भारतले मिचेको भूमि कालापानी क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा फहराएपछि उनको चर्चा सुरु भएको थियो । तर, केही दिनयता नारायणहिटी दरबार संग्रहालय हाताभित्रको जग्गा निजी कम्पनीलाई कौडीको भाउमा भाडामा दिइएको सन्दर्भमा समेत जोडिएपछि उनीप्रति आलोचनामात्रै होइन, आक्रोश नै देखिएको छ ।
उनकै सामाजिक सञ्जालमा भएका पछिल्लो साताका टिप्पणी हेर्ने हो भने थाहा हुन्छ । यस सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो संलग्नता नरहेको दावी पनि गरिसकेका छन् ।
त्यसो त कोरोना प्रकोपमा विदेशबाट फर्किने नेपालीसँग लाखौँ असुलेर कमिशन खाएको आरोप पनि भट्टराईमाथि लागेको छ । मन्त्री पदमै हुँदा भ्रमण वर्षदेखि अन्य कयौँ मुद्दामा उनी विवादमा परेका थिए । यद्यपि, भट्टराई आलोचनात्मक चेतना राख्ने र आफ्नो कुरा पार्टीभित्र राख्ने हुँदाले एमाले र अन्य दलमा पनि लोकप्रिय छन् ।
ईश्वर पोखरेल
ईश्वर पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष हुन् । ईश्वर पोखरेल डेढ दशकभन्दा अगाडि नै उनको घरमा पानी ट्यांकीमा पैसा भेटिएको विषयले विवादमा परेका थिए ।उनको घरमा ट्यांकीमा पैसा भेटिएकाबारे एक सञ्चारमाध्यममा २०७३ मा उनले भनेका थिए, ‘मलाई सिध्याउन, मेरो चरित्रहत्या गर्न दरबारिया मण्डले र कथित क्रान्तिकारीहरू मिलेर जे जस्ता कथाहरू रचना गरे, त्यसको हिसाब किताब अझै पनि मैले बुझ्न सकेको छैन । मण्डले पत्रकार निरोधराज पाण्डे र निमकान्त पाण्डेले कथा लेख्ने र ती कथाका आधारमा खगेन्द्र संग्रौलाले एउटा दैनिक पत्रिकामा मेराविरुद्ध लेख लेख्ने शिलशिला नै चलाइयो । ईश्वर पोखरेलको घरको ट्यांकीमा पैसा भेटियो भनेर निमकान्त पाण्डे भन्नेले आफ्नो पत्रिकामा कथा लेखेछन् । कसैले नकिन्ने र नपढ्ने पत्रिका भए पनि दरवारियाहरूले नियोजित रुपमा त्यसको प्रचार गरे ।’
ईश्वरको विवादको श्रृंखला यतिमै रोकिएको छैन । ईश्वर पोखरेल पछिल्लो पटक ओली सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री हुँदा पनि विवादले घेरिएका थिए ।
पोखरेल त्यतिबेला कोरोना नियन्त्रण उच्चस्तरीय संयन्त्रको संयोजक पनि थिए । कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका विषयमा उनी विवादमा तानिएका थिए । ओम्नी समूहसँग सम्झौता गरी घोटाला गरेको भन्दै पोखरेल विवादमा तानिएका थिए ।
तर, वरिष्ठ उपाध्यक्ष पोखरेल पार्टीको सांगठानिक संरचनामा प्रभावशाली र लोकप्रिय छन् । उनलाई एमाले अध्यक्ष ओलीको उत्तराधिकारीका रुपमा पार्टी कार्यकर्ताहरूले लिने गरेका छन् ।
विष्णुप्रसाद पौडेल
एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल एमालेका विवादित पात्रमध्येका एक हुन् । बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि उनी विवादको शिखरमा पुगेका पात्र हुन् । बालुवाटार काण्डमा मुछिए पनि तत्कालीन नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले पौडेललाई जोगाएको आरोप छ ।
जे आरोप लागे पनि पौडेललाई पार्टी एकता जोगाउन महत्त्वपूर्ण भूमिका खेलेकाले कार्यकर्ताले प्रशंसा गर्छन् ।
शंकर पोखरेल
शंकर पोखरेल एमालेको महासचिवको भूमिकामा छन् । एमाले महासचिव हुनुअघि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री थिए । पोखरेलमाथि लुम्बिनी प्रदेशकी एकजना सांसद अपहरण गरेको आरोप छ । तर, एमालेमा उनी प्रभावशाली नेता र कुशल संगठकका रुपमा परिचित छन् ।
पद्मा अर्याल
एमाले सचिव पद्मा अर्याल पनि विवादको घेरामा परिन् । सुरुमा उनी गुठी विधेयकका कारण विवादमा परेकी थिइन् । उनी मन्त्री हुँदा गुठी विधेयक अगाडि बढाउन खोजेकी थिइन्, तर विरोधका कारण सफल हुन सकेन ।
मल खरिदका विषयमा अर्याल पनि विवादमा तानेकी थिइन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डिएपी मल खरिद कार्यमा संलग्न कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १० जना तथा २ वटा कम्पनीउपर बिगो १ अर्व ५३ लाख २२ हजार चार सय ६ रुपैयाँ ७२ पैसा बराबरको बिगो कायम गरी आइतबार विशेष अदातमा मुद्दा दायर गरेको छ ।
तर, अख्तियारले मल खरिदका मुख्य डिजाइनर तत्कालीन कृषि तथा पशुपंक्षी विकास मन्त्री पदमा अर्याल र सचिव योगेन्द्र कार्कीलाई उन्मुक्ति दिएको छ । तर, एमालेभित्रका महिला नेतृहरूमा उनी प्रभावशाली र लोकप्रिय छन् ।
गोकुल बास्कोटा
एमाले नेता गोकुल बास्कोटा विवादमा परेका अर्का पात्र हुन् । सञ्चारमन्त्री हुँदा ७० करोड बार्गेनिङ गरेको टेप रेकर्ड बाहिरिएपछि उनी विवादमा तानिएका थिए । (एसिया खबर)