अनखबर / स्याङ्गजा
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ९ का काङ्ग्रेस बाट निर्वाचित वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङ नागरिकता बनाइदिने भन्दै सेवाग्राही संग १ लाख ३५ हजार घुस लिएको आरोपमा अख्तियारको फन्दामा परेका छन् । आरोपित गुरुङद्वयलाई अख्तियारले बिशेश अदालतमा मुद्दा दायर गरेपछि उनीहरू स्वत : निलम्बित भएको स्रोतले बतायो ।
वडा अध्यक्ष गुरुङले आर्थिक प्रलोभनका आधारमा परि दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बदनियत तरिकाले सिफारिस गरेको पाइएको अख्तियार स्रोतले बताएको छ ।
यता नगरपालिकाले अख्तियारबाट आएको पत्र आरोपित वडा अध्यक्ष र सदस्यलाई बुझाएको बताएको छ,उनीहरू कार्यपालिकाको कुनै पनि काममा सहभागी छैनन् ,भर्खरै सम्पन्न नगर सभामा समेत उनीहरू सहभागी नभएको नगर स्रोतले अकला आवाजलाई बतायो ।
निलम्बित वडा अध्यक्षलाई निलम्बित भएपछि पनि किन सरकारी मोटरसाइकल चलाइरहनु भएको हो भनेर अकलाको प्रश्नमा गुरुङले निलम्बनको पत्र बुझेपछि मोटरसाइकल नचलाएको बताए तर त्यहाँका स्थानीयले भने निलम्बित गुरुङले अझै पनि मोटरसाइकल चलाएको बताएका छन् ।
यता अर्का आरोपित वडा सदस्य कुल बहादुर गुरुङले नियम विपरीत सरकारी मोटरसाइकल चलाएको पाईएको छ ।
अन्यत्र पालिकामा वडा सदस्यलाई मोटरसाइकल उपलब्ध गराएको पाइदैन तर भिरकोट नगरपालिकाले नियम विपरीत वडा सदस्यलाई समेत मोटरसाइकल उपलब्ध गराउनु कानुन विपरीत भएको देखिन्छ स्रोतले भन्यो ।
नगरपालिकाले डोजर हेरालुको रुपमा निलम्बित वडा सदस्य कुल बहादुर गुरुङकि पत्नी तानमाय गुरुङलाई नियुक्ति गरेको छ ।
यता वडा अध्यक्ष निलम्बित भएपछि वडाका कामहरू भने अस्तव्यस्त भएको छ । अध्यक्ष निलम्बित भएपछि पालिकाको निर्णयमा वडाको अर्को सदस्यलाई कार्यवाहको जिम्मेवारी दिने कानुनी व्यवस्था छ । तर अहिलेसम्म कार्यवाहक नतोक्दा वडामा काम लिएर गएका सेवाग्राही अलपत्र परेका छन्
यद्यपि निलम्बित वडा अध्यक्ष गुरुङले भने आफूहरूलाई फसाउन षड्यन्त्र गरिएको जिकिर गरेका छन् ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भीमबहादुर गुरुङ विरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । (अकला आवाज साप्ताहिकबाट)