२२ माघ, काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा८ जनाको मृत्यु भएको छ ।
बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा८ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।
मृत्यु हुनेहरुमा प्यूठान गौमुखी गाउँपालिका–६ लिवाङका ३९ वर्षीय बसन्त खड्काको उपचारको क्रममा मृत्यु भएको छ । उनकी ११ वर्षिय छोरी एलिसा खड्को पनि ज्यान गएको छ । यसैगरी सोही ठाउँका अन्दाजी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीया केसरी खड्का, जिप चालक ५२ वर्षीय बल बहादुर बुढामगर, ३२ वर्षीय खिम बहादुर खत्री र ५२ वर्षीया नन्दी खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना स्थलमै मृत्यु भएको अर्की अन्दाजी २२ वर्षीया युवतीको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा परी घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जि.सी.को अवस्था गम्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । यसैगरी किमिचौरकै २५ वर्षीया साबित्रा जि.सी. २१ वर्षीया हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
फाईल फोटो
जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डीएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।
घाइतेहरूलाई जिल्ला अस्पताल लगिएको डीएसपी थापाले बताए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको उनले बताए ।
घटनास्थल इलाका प्रहरी कार्यालयबाट पनि १५ किलोमिटर टाढा रहेको छ । जीप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।