अनखबर
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० सम्झौता खारेजीको मागसहित आन्दोलनमा उत्रेको २२ दलीय मोर्चाले कलंकी चोकमा विरोध प्रदर्शन गरेको छ ।विप्लव नेतृत्वको नेकपासहितका संसद बाहिर रहेका ६ पार्टीले आज साँझ कलंकी चोकमा एमसीसीविरुद्ध नाराबाजीसहित कोणसभा गरेका हुन् । विप्लव समूहका काठमाडौं जिल्ला सचिव राजेन्द्र श्रेष्ठको नेतृत्वमा अखिल क्रान्तिकारी काठमाडौंका अध्यक्ष गोविन्द विष्टलगायत १५ जनाको उपस्थितिमा विरोध प्रदर्शन र कोणसभा गरिएको सो पार्टीले जनाएको छ ।
प्रदर्शनकारीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाईंदैन’, ‘अमेरिकी साम्राज्यवाद मूर्दावाद’, ‘दलाल पूँजीवादी संसदीय व्यवस्था मूर्दावाद’, ‘संयुक्त आन्दोलन जिन्दावाद’, ‘गो ब्याक एमसीसी’, ‘राष्ट्रघाती एमसीसी खारेज गर,’ लगायत नारा लगाएका थिए ।कोणसभामा बोल्दै विप्लव समूहका श्रेष्ठले आफूहरु खरानी हुन तयार रहेको तर कुनै हालतमा एमसीसी पास हुन नदिने चेतावनी दिएका छन् ।
२२ दलीय मोर्चामा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीलगायत संसद बाहिर रहेका वामपन्थी शक्तिहरु सहभागी छन् । मोर्चाले भोलि प्रतिनिधिसभा बैठक बोलाइएकै दिन संसद भवन अगाडि विरोधसभा गर्दैछ । त्यसैको प्रचार–प्रसारका लागि आज कोणसभा गरेको मोर्चाले जनाएको छ । यस्तै भोली नै यता बुटवलस्थित जेसिसचोकमा पनि मोर्चाले कार्यक्रमको आयोजना गर्दैछ ।