अनखबर
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी संसदमा टेबल भए विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्। उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारे। ‘संसदमा एमसीसी टेबल भए विपक्षमा उभिने निर्णय भएको छ’, प्रमुख सचेतक गुरुङले भने, ‘जबरजस्ती गरे सरकार छोड्ने निर्णय भएको छ।
’
बुधबार १ बजे बस्ने संसद बैठकमा एमसिसी पेश हुने सम्भावना छ। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। यद्यपि, परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले नजाने भएको छ।
यता संसदीय दलको बैठक सकेर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन्। सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन्।
माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ। बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ। प्रचण्डले बैठकको निर्णय प्रधानमन्त्री देउवालाई सुनाउने छन्।