अनखबर
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीमाझ भने । यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।
यसैबीच गठबन्धनमा सहमति जुटेसँगै प्रतिनिधिसभा बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबलको प्रस्तावसहित कानुनमन्त्री दिलेन्द्र बडू बैठकमा पुगेका छन् । बैठक बानेश्वरस्थित संसद भवनको शंकर हलमा केहीबेर सुरु हुँदैछ । मसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो ।
बैठकले एमसीसी टेबल गर्न कार्यसूची तय गर्ने बताइएको छ। आजै दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ भने सत्ता गठबन्धनमा एमसीसी टेबल गर्नेबारे सहमति भइसकेको छ।