अनखबर  एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ । एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ । आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन । नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले असहमति राखेका थिए । एमसीसी सम्झौतासँगै आइतबारको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको लोकसेवा आयोगसम्बन्धी विधेयक पनि पेश हुने उनले जानकारी दिए । 

यसैविच नेकपासहितका ६ कम्युनिष्ट दलहरुले भने आज संसद भवन घेराउ गर्दैछन्, संसद टेबुल हुने भनिएपछि उनीहरु पनि विहानैदेखी झण्डा र व्यानरसहित एमसीसीको खारेजीको माग गर्दै प्रदर्शनमा छन् ।