अनखबर
एमसीसीका विवादित बुँदालाई व्याख्या गर्दै नयाँ सिराबाट गठबन्धनलाई अगाडी बढाउनुपर्ने भन्दै एमसीसीकै कारण गठबन्धन नटुटाउने सत्ता गठबन्धनको निर्णय भएको छ । कांग्रेसले ओलीसँग सहकार्य गर्न लागेपछि तर्सिका माधव नेपाल र प्रचण्डले एमसीसी पास गर्ने अवस्थामा पु¥याउन निर्णायक बैठक बसिरहेका छन् ।
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।
स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संस्थागत निर्णय लिन बैठक बोलाएका छन् । बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ । आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेका सम्भावित कार्यसूचीमा एमसीसी पनि राखिएको छ ।
सत्ता गठबन्धनका दल एमसीसीमा यु–टर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ । यसको नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका हुन् । ुएमसीसी सम्झौतामा रहेका प्रावधानका व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेको छ,ु बन्दीले भने ।
कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा ९एस०बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफट’मा गठबन्धनको बैठकमा छलफल गरेपछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।
यसअघि संशोधन बिना एमसीसी परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो देखिएपछि नयाँ प्रक्रिया अगाडि बढेको हो । एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादी लचिलो भएका छन् ।