अनखबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गरेका छन् । यो विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उनको भनाइ छ ।
आफूले अन्तर्राष्ट्रिय कानूनका धेरै ज्ञाताहरुसँग सल्लाह गरेपछि भियना अभिसन्धिअनुसार यस्तो व्याख्यात्मक घोषणा कानूनसम्मत हुने निस्कर्षमा पुगेको प्रचण्डले बताए ।उनले आज पत्रकारसँग भने, ‘अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरुले मलाई यस्तो उपाय सुझाएपछि मलाई ‘इन्लाइटेन’ जस्तो भयो । भियना अभिसन्धीअनुसार यसो गर्न सकिने रहेछ । म छ्याङ्ग भएपछि पार्टीमा प्रस्ताव राखेको हुँ ।’
प्रचण्डले व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको दावी गरे ।
उनले भने, ‘अर्को पक्षले यदि यसलाई मानेन भने स्वतः खारेज हुन्छ भन्नेमा हामी क्लीयर भएका छौं । त्यो त्यसको अंग बन्छ भन्ने भयो । केही साथीहरुले अमेरिकी दूतावासमा पनि कुरा गर्नुभयो । त्यताबाट पनि सकारात्मक संकेत आयो । त्यसैले हामी अगाडि बढ्यौं र संविधान र शान्ति प्रक्रिया जोगियो ।’
एमसीसीको विरोध गनेवित्तिकै सबै जनताको सहानुभूति पाइने ठानेर पार्टीका केही नेताहरुले विरोध गरिरहेको प्रचण्डले बताए । तर, महाकाली सन्धीमा बामदेव गौतमले गरेको विरोध सम्झिदै उनले त्यस्तो भ्रम नपाल्न आग्रह गरे ।