अनखबर
एमसीसी पास गरिएपनि लागू गर्न नदिने चेतावनी दिदै आएका कम्युनिष्ट घटकहरुको मोर्चाले १५ दिन लामो आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । आन्दोलनको कार्यक्रममा नेपाल बन्द चाही छैन, विरोध सभा, देशव्यापी ज्ञापनपत्र, विद्यार्थी, युवा, मजदुरको छुट्टाछुट्टै विरोध सभा लगायत रहेका छन् । मङ्गलबार अपराह्न संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनकारी दलले नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको निष्कर्ष पनि निकालेका छन् । ६ दलले यो देश र नेपाली जनतका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको र घोर राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा (एमाले) ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा वयल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पु¥याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर पनि गरेका छन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज हाम्रो ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताले गत फागुन १५ गतेलाई कालो दिन घोषणा गरेका छन् । शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनका खिलापमा राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरे । यो देश र नेपाली जनताका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको छ ।’
संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् ।