अनखबर
एमसीसीलाई २१ औं शताब्दीको नयाँ रुपको उपनिवेश भन्दै नेकपा का महासचिव विप्लवले यसलाई ध्वस्त पार्ने बताएका छन् । नेपालालाई कब्जा गर्ने गरी, चीन घेर्न र नेपालको सामरीक महत्वको भूमिमा परेड खेल्न अमेरिकाले एमसीसी लादेको बताउँदै उनले फागुन १५ लाई कालो दिनको रुपमा दर्ज गरेको समेत बताए ।
विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज भएको बताएका हुन् ।


‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ ।


अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे । अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको जिकीर गरे ।
केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरीत रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको उनको भनाइ छ । कार्यक्रममा नेकपा९क्रान्तिकारी० माओवादीका मोहन बैद्य, , राष्ट्रिय जनमोर्चाका चित्रबहादुर कार्की, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वप्रेम दुलाल आहुती, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल लगायतले सम्बोधन गरेका थिए । हजारौं कार्यकर्ताको उपस्थितीमा भएको सो कार्यक्रम काठमाडौंको खुलामञ्चमा भएको थियो ।