अनखबर
हिजोदेखी कपिलवस्तुको शिवगढीमा बसेको विप्लव नेतृत्वको नेकपाको १२ औं पूर्ण बैठक नेकपाको केन्द्रिय कार्यालयमा जारी छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक दस्तावेज प्रस्तुत गर्दै हिजै सबै केन्द्रिय सदस्य, सल्लाहाकार र विभागका नेतृत्वहरुलाई अध्ययनको लागी वितरण गरिएको थियो । अध्ययन गरेपछिको राजनीतिक प्रतिवेदनमाथी अहिले छलफल जारी छ । ६९ जना केन्द्रिय समिति, सल्लाहकार समिति, विभिन्न विभाग सहितको उपस्थितीमा बसेको बैठकले आगामी कार्यनिती र योजनाबारे गम्भीर समिक्षा र छलफल गर्ने बताईएको छ ।
नेकपाले खासगरी एमसीसी अनुमोदन भएपछि देशमा उत्पन्न हुनसक्ने स्थिती, आगामी निर्वाचनलाई बहिष्कार गर्ने वा उपयोग गर्ने, पार्टीको आगामी ९ औं महाधिवेशन, सरकारसँग भएको ३ बुँदे सम्झौता कार्यान्वय र माओवादी आन्दोलनलाई धुव्रीकरण कसरी गर्न सकिन्छ भन्नेबारे बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा उल्लेख गरीएको छ । एक केन्द्रिय सदस्यले अनखबरलाई बताएबमोजिम रिपोर्ट राख्ने केन्द्रिय कमिटिका साथीहरुले धेरैले निर्वाचनमा जान नहुन बताएका छन् । उनले अनखबरलाई भने,‘निर्वाचन उपभोग गर्न मोर्चा बनाएर जान सकिनेबारे विप्लवको दस्तावेजमा उल्लेख छ, तर धेरैको धारणा भने कि पार्टी नै चुनावमा जानुपर्ने या निर्वाचन बहिष्कारको निती ल्याउनुपर्ने बुझाई रहेको छ ।’
बैठकमा संगठनात्मक र आगामी संघर्ष, समसामयिक अन्तर्राष्ट्रिय बिषयमा समेत बैठकमा छलफल भैरहेको छ । यसअघि नेकपाको तनहुँमा केन्द्रीय समितिको बैठक बसेको थियो । सरकारले आगामी बैशाख ३० गते हुनेगरी स्थानीय तहको चुनाव तोकेको छ । सोही चुनावलाई उपभोग गर्ने मनसायमा विप्लव देखिन्छन भने सो प्रस्तावमा प्रकाण्ड, सन्तोष बुढा लगायतको साथ छ, सचिवालयका अन्य नेताहरु हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले अहिले चुनावमा गैहाल्दा पार्टीको कार्यदिशालाई असर पर्नसक्ने भन्दै सचेतता अपनाउनुपर्नेमा जोड दिएका छन् । योभन्दा अगाडीका चुनावलाई बष्हिकार गर्दै आएको विप्लव नेकपाले अहिले चुनावलाई उपयोग गर्नेबारे छलफल भैरहँदा धेरैले यो विषयलाई चासोका साथ हेरेका छन् ।