अनखबर
विप्लव नेतृत्वको नेकपाको जारी १२औं केन्द्रिय कमिटिको बैठकमा महासचिव विप्लवको प्रस्तावमाथी केन्द्रिय कमिटिका नेताहरुले धारणा राख्ुन सुरु गरेका छन् । आज बैठकको दोस्रो दिन १० जना नेताले प्रस्तावमाथी आ–आफ्नो मत राख्ने काम भएको छ । केन्द्रिय सदस्यहरुले पहिले सचिवालयका नेताहरुबाट धारणा माग गरेपछि पहिले सचिवालयबाट नेताहरुले धारणा राखेका थिए । प्रस्तावमाथी धारणा राख्दै सचिवालयका नेताद्धय धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश ओली पुरानै अडानमा कायम रहेको बुझिएको छ । उनीहरुले तत्काल चुनावमा नगई सशक्त बहिष्कार गर्नुपर्ने र संसदीय चुनावको सट्टा जनमत संग्रहको माग गर्नुपर्ने बताएका थिए ।
त्यस्तै सन्तोष बुढा मगरले सन्तुलित रुपमा चुनावलाई उपयोग गर्न सकिने तर त्यो रणनीतिक हतियारमात्रै हुनुपर्ने मत राखेका थिए भने प्रवक्ता प्रकाण्डले जनतासँग जोडिनलाई चुनावमा जानुलाई अनौठो मान्न नहुने बताएका थिए । त्यस्तै यिबाहेक अन्य केन्द्रिय कमिटिका ६ जनाले सम्पूर्ण रुपमा राजनीतिक प्रतिवेदनमाथी आआफ्नो मत राखेका छन्, ६९ जना केन्द्रिय समिति रहेको नेकपाका सबै सदस्यले मत जाहेर गर्दा केही दिन लाग्नेछ, त्यसपछि महासचिव विप्लवले कमिटिमा उठेका विषयको उत्तर दिनेछन् । बोल्ने धेरैजसो नेताले चुनावमा जान नहुने तर्क गरेकोले तत्काल चुनावमा जाने विषयमा नेकपाभित्र मतभिन्नता बढेको बुझिएको छ ।