अनखबर
कपिलवस्तुमा जारी नेकपाको १२औं बैठकमा महासचिव विप्लवको राजनीतिक प्रतिवेदनमाथी छलफल जारी छ । राजनीतिक प्रतिवेदनमा सरकारले तोकेका स्थानीय तहको चुनाव उपयोग वा बहिष्कार, एमसीसी अनुमोदनपछिको अवस्था, ३ बुँदे राजनीतिक सहमतिपछिको अवस्था, पार्टीको महाधिवेशन लगायतका बारेमा उल्लेख छ । उक्त विषयहरुमा छलफल जारी रहँदा बाहिर विभिन्न मिडियाहरुले चुनावको पक्ष र विपक्षमा भएको भन्दै अनर्गल प्रचार गरेकोप्रती नेकपाले भ्रममा नपर्न आग्रह समेत गरेको छ । ६५ केन्द्रिय सदस्य ४ सल्लाहकारसहित झण्डै ७० जनाको उपस्थिती रहेको बैठकमा आज केन्द्रिय नेताहरुले प्रतिवेदनमाथी आफ्नो धारणा राख्ने क्रम सकिने छ । पार्टी स्रोतका अनुसार प्रतिवेदनमाथी छलफल सकिएलगत्तै भोली विप्लवले उठेका विषयमा आफ्नो जवाफ र प्रतिवेदनमाथी प्रष्ट पार्न कार्यक्रम रहेको छ ।

प्रतिवेदनमाथी सघन छलफल भएकोले बोल्ने क्रम लम्बिएको थियो, पार्टीको आगामी कार्यक्रम र योजनाबारे समेत विह्गम छलफल भएकोले बोल्ने केन्द्रिय नेताहरुले गम्भीर विषयहरु राखेका छन्, पार्टी र क्रान्तिप्रती नै चिन्तन भैरहेको बेला छलफलबारे बाहिर आएजस्तो नभएको एक नेताले जानकारी गराए ।
बोल्ने क्रम सकिएपछि भोली विप्लवको जवाफ रहनेछ, सम्भवतः पर्सी बैठक टुङ्गिने अपेक्षा गरिएको छ, पार्टी बैठक सकिएपछि जनतामा नयाँ उत्साह लिएर जादैछौं नेकपाका अर्का नेताले भने । अनावश्यक प्रचारप्रसार बढी भएपछि नेकपाले त्यसबारे स्पष्ट पारेको थियो, नेकपाका धेरै कार्यकर्ताले चुनावमा जाने विषयमा छलफल भएको बाहिरिएपछि सामाजिक सञ्जालमार्फत त्यसको विरोध गर्दै चुनाव बहिष्कार गर्नुपर्ने मतसमेत राखिरहेका छन् ।