अनखबर
कामना सेवा विकास बैंक कोटिहवा शाखाले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत कोटिहवामा रहेको पशुपति कलेजमा बुधवार आफ्नो अभियान सम्पन्न गरेको छ । विद्यार्थीलाई बैंकिङ प्रणालीको बारे जानकारी दिदैं, बैकिङ सेवा लिन सहज र सरल होस भन्ने हेतुले विगतदेखी सो शाखाले वित्तिय साक्षरता कार्यक्रम गर्दै आईरहेको छ ।

कार्यक्रममा शाखा कार्यालयका प्रमुख नवराज खनालले विद्यार्थीहरुलाई वित्तिय अनुशासनसहित बचत, बैंकिङ सेवा लिने बानी बसाल्न र बैंकिङ प्रयोग सुरक्षित रुपमा गर्न भन्दै विद्यार्थीलाई लक्षित गरी सो कार्यक्रम गरेको बताए । प्रमुख खनालले बंैकिङ ज्ञान नहुँदा विद्यार्थीहरुले पाउने सुविधादेखी बैंकिङ प्रयोगको महत्वसमेत घट्ने हुँदा बैंक यस्तो अभियान सञ्चालन गरेको समेत बताए । विद्यार्थी, प्राध्यापक सहित ९० भन्दा धेरै सहभागी रहेको उक्त कार्यक्रमले विद्यार्थीमात्रै नभई अभिभावकसम्म साक्षरता पुग्ने अपेक्षा गरेको बैंकका शाखाप्रमुख खनालको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै पशुपति कलेजका प्रमुख कृष्ण प्रसाद शर्माले विद्यार्थीहरुलाई बैकिङ ज्ञान दिएर व्यवहारिक शिक्षा प्रदान गरेकोप्रती शाखालाई धन्यवाद ज्ञापन गरेका थिए । कामना सेवा बैंकले वित्तीय साक्षरता सहित सामाजिक उत्तरदायित्व सम्बन्धी काम नियमित गर्दै आईरहेको छ । राष्ट्रिय विकास बैंकको पहिचान बनाएको कामना सेवा बैंकमा हाल ५ लाखभन्दा बढी ग्राहक छन भन १३३ भन्दा बढी शाखा देशभर सञ्चालनमा छ ।