बुटवल -०९

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै सञ्चालन हुन लागेको हो ।

परीक्षामा देशभरबाट पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ । कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ ।

ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । यस्तै लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ परीक्षार्थी सहभागि हुने छन् । लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागि हुने परीक्षार्थी मध्ये २ हजार ८६६ जना प्राविधिक धारका र २ जना परीक्षार्थी दृष्टिबिहिन रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा र सबै भन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक गैरेले बताए ।