स्याङ्जा- १७
स्याङ्जाको चापाकोटमा अज्ञात समुहले खुकुरी प्रहार गर्दा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा चापाकोट– १० का २७ वर्षीय नारायण हिस्की मगर रहेको इलाका प्रहरी कार्यालय चापाकोटले बताएको छ ।

इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी खर्क नारायण शाहका अनुसार नेकपा एमालेले साँखरमा घरदैलो कार्यक्रम गरी नेकपा एमालेबाट मेयरका उम्मेदवार बन्नुभएका राजु कोइराला र उपमेयर सृष्टि मल्लसहित एक सय भन्दा बढीको समुह चापाकोटको पेट्रोल पम्पतिर गइरहेको अवस्थामा चापाकोटको विपी चोकमा रातिको करिब ८:४० बजे उक्त घटना भएको हो ।

घटनामा खुकुरी प्रहार गरेको जस्तो देखिए पनि घटनास्थलबाट कुनै हातहतियार नभेटिएको र घाइते खतरामुक्त रहेको  प्रहरीले जनाएको  छ ।

घाइतेको पेट र टाउकोमा चोट लागेको छ । घाइतेलाई चापाकोट अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा पठाएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको  छ ।