अनखबर /बुटवल
बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनीधिले प्रदभार ग्रहणसंगै दुई वटा निर्णय लिईएको छ । भूमिहिन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।पदभार ग्रहणसंगै बुटवल क्षेत्रमा अव्यवस्थित भूमिहिन सुकुम्बासी जनताको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गर्नको लागि लगत संकलन भएकालाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि प्रकृया अगाडि बढाउन भूमि आयोगमा अनुरोध गर्ने निर्णय गरेको हो ।
त्यस्तै बुटवलको चौराहा–चिडियाखोला सडकखण्ड, ज्योतिनगर पहिरो नियन्त्रण, तिनाउ दानव करिडोरले विस्थापन गराएकाहरुलाई जग्गा उपलब्ध गराउने, बुटवलको खानेपानी लगायतका मुख्य समस्याहरु प्राथमिकतामा रहेको पाण्डेले बताए । बुटवल उपमहानगरपालिकामा सोमबार नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गरेलगत्तै नगरपालिकामा प्रस्ताव भईआएका यी दुई निर्णय सदर गरेका हुन् ।
औपचारिक कार्यक्रमको आयोजना गरी बुटवल नगरपालिकामा पदस्थापन तथा सपथ ग्रहणसमेत गरिएको थियो । बुटवल उपमहानगरका १९ वटा वडामा ९७ जना जनप्रतिनिधीहरु चुनिएका छन् ।