सुर्खेत- ११
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस सिस्नेमा दुर्घटनामा परेको हो ।
आठबिस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।
‘दुर्घटना भएको बस कर्णाली नदीको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू यात्रा गरेको भन्ने सुनेका थियौँ । बसभित्रबाट घाइतेहरू निकाल्दै छौँ’ आठबिस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले बताए । चार जनाको मृत्यु भएको छ, रातिको समय भएकाले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिए ।
उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ । हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने खड्गराज उपाध्यायले बताए ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठबिस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।