काठमाडौं-२३ जेठ
असार १ देखि आइतबार सार्वजनिक बिदा नहुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको हो ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो । हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै आजै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

आवश्यक विचार विमर्श बिना मन्त्रिपरिषदले हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।