बुटवल

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री बिमला खत्री वलीले घर भित्रै घुसेर महिला तथा बालबालिकामाथि कुटपिट गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कको लालुमण्डीको पछाडि बस्ने मिना भण्डारी बस्नेतको घर भित्रै घुसेर मंगलबार बिहान राज्य मन्त्री वलीले मिना भण्डारी बस्नेत र उनकी नाबालक छोरीलाई कुटपिट गरेकी हुन । मन्त्री आँफै अर्काको घर भित्र घुसेर कुटपिट गर्नुका साथै लत्ताकपडा समेत फालिदिएपछि यतिखेर घटनास्थलमा प्रहरी ठूलो मात्रामा परिचालन गरिएको छ ।

आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले लगेको छ । अहिले पनि उनी इप्रका तुलसीपुरमै छिन । बिमलाले श्रीमान तथा तत्कालिन प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा परि मृत्यु भएपछि उपनिर्वाचिनमा नेकपा एमालेबाट निर्वाचित भएपनि पछि नेकपा माओबादी रोजेकी थिइन । पीडित मिनाले बिहान करिब ८ बजेतिर बिमला एकाएक आफ्नो घरको च्यानेल गेट हान्दै ढोका खोल भन्दै भित्र पसेको र त्यसपछि आँफु र आफ्नी तीन बर्षीया छोरीमाथि अनाहकमा कुटपिट गरेको बताइन ।

उनले मिनाको कोठा भित्रको दराजका कपडा निकाल्दै आँफुले आफ्नो श्रीमान एकराजका लागि ती कपडा किनिदिएको भन्दै मनपरी निकाल्ने र फाल्ने गरेको मिनाले आरोप लगाइन । बिमलाले मिनाको कोठाका कपडाहरु यत्रतत्र छरिदिएकी थिईन । मन्त्रीले नै सीमा नाघेर अर्काको घर भित्र घुसेर मनपरी गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् । केही समय पहिले राज्य मन्त्री बिमला र मिनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसंग बाहिरीएको थियो ।