शिव डुम्रे/बुटवल
सडक दुर्घटना अत्याधिक बढिरहेको बेला दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले लुम्बिनीमा चालक तथा यात्रुसँग १ मिनेट कार्यक्रम सुरु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण तथा सवारी नियमको सचेतना फैलाउने उद्देश्यले कार्यक्रम संचालन गरेको हो ।
लामो दुरीमा रात्री समयमा चल्ने सवारीका चालक तथा यात्रुहरुलाई सवारी नियम र यात्रु र चालकका जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले ट्राफिक प्रहरीको पहलमा विहिबार (हिजो) रातीदेखी सचेतना कार्यक्रम सुरु भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नल प्रसाद उपाध्यायले सवारी चालकलाई जिम्मेवारपूर्वक र सुरक्षित रुपमा यात्रुहरुलाई गन्तव्यमा पु¥याउन सचेतना दिए ।
बुटवलको राजमार्ग चौराहामा रात्री बसका चालक तथा यात्रुहरुसँग भेटघाट गर्दै ट्राफिक प्रहरीका बरिष्ठ सहायक निरीक्षक ज्ञानु पाण्डेले यात्रुहरुलाई चालकले लापरबाही गरेमा वा अस्वभाविक रुपमा बस चलाएमा तत्काल प्रहरी वा ट्राफिकलाई खबर गर्नसमेत सुझाएका थिए । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा अभियानका रुपमा कार्यक्रमको थालनी गरिएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।
कार्यक्रममा पश्चिम नेपाल यातायात प्रा.ली., सुरक्षीत यात्रा नेपाल लगायतले समेत सहकार्य गरेका छन् । आजैदेखी लुम्बिनी प्रदेशका ४ ठाउँमा रिफ्रेस सेन्टरसमेत सञ्चालनमा आएका छन् । यात्रु र चालकलाई रिफ्रेस हुन र आराम गराउने ठाउँको रुपमा नवलपरासीको बर्दघाट, रुपन्देहीको सालझण्डी, दाङको लमही र बाँकेको कोहल्पुरमा आजदेखी रिफ्रेस सेन्टरहरु सञ्चालनमा आउने लुम्बिनी ट्राफिक कार्यलयका प्रमुख एसपी योगेन्द्र सिंह थापाले जानकारी दिए ।
पछिल्लो समय काठमाडौंबाट आउने क्रममा रुपन्देहीको रोहिणीमा रात्री बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो ।