अनखबर/.बुटवल
७३ दिनअघी मृत अवस्थामा भेटिएकी रुपन्देही तिलोत्तमा २ जानकीनगरकी अमृता खत्री टण्डनको आज दाहसंस्कार गरिएको छ । ७३ दिन अघि आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि उनको मृत्यु स्वभाविक नभई हत्या भएको भन्दै माईती पक्षले निरन्तर आन्दोलन र हत्यारालाई काराबाहीको माग गरिरहेका थिए ।
विहिबार प्रहरीले माईती र घरपक्षसँग सहमति जुटाएपछि आज दाहसंस्कार गरिएको हो । घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षादिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ ।


गएको चैत ३० गते राति अमृताको शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाई नभएपछि माइती पक्षले लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको शव उठाउन मानेका थिएनन् ।
उनीहरुले अमृताको मृत्युमा श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनको हात रहेको भन्दै उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए ।