बुटवल
तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरमा अवैध रुपले सञ्चालित कल सेन्टरमा छापा मारेर प्रहरीले मूख्य अभियुक्त सहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले प्रारम्भिक अनुसन्धानमा यिनीहरुले कल सेन्टरबाट फोन कल÷ह्वाट्स एपमा म्यासेज÷कल मार्फत चिठ्ठा पर्यो भन्दै सर्वसाधारणहरूलाई ठगीको साथै चर्को कमिशनमा भारतीय नागरिकलाई कर्जा दिने गरेको खुलेकाे बताएका छन् ।

४० प्रतिशत कमिशनमा छोटो अवधिको लागी कर्जा दिएको देखिन्छ ।” रेग्मीले भने  “कर्जा समयमै फिर्ता नदिने ब्यक्तिहरुलाई धम्क्याउनका लागी कर्मचारीहरुको प्रयोग हुने गरेको पायौ ।” यसरी कर्जा दिदा कर्जा लिने ब्यक्तिले अन्य ३ जनालाई जमानी राख्ने गरेको पाईएको रेग्मीले बताए । जमानी राख्दा पनि उनिहरुको आधार कार्ड, प्यान कार्ड लगायत अत्यावश्यक कागजातहरु अभियुक्तहरुले नै राख्ने गरेका थिए । कर्जा लिने ब्यक्तिलाई मोबाईलमा एक बिशेष एप्लिकेशन राख्न लगाइन्थ्यो जसले उसको सबै विवरण अभियुक्तहरुले निकाल्न सक्थे ।

समयमै कर्जा चुक्ता नगर्ने ऋणिलाई धम्क्याउन जमानी बसेका ब्यक्तिहरुलाई धम्क्याउन लगायतका काममा कर्मचारीहरुको प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको रेग्मीले बताए । यस बाहेक प्राप्त भएको विवरणकै आधारमा अभियुक्तहरुले ब्लैकमेल गर्ने, रकम माग गर्ने लगायतका काम गरेको खुलेको उनले बताए । यद्दपी यस बारेमा अनुसन्धान जारी रहेको कारण अहिले नै पूर्ण रुपमा भन्न सक्ने अवश्था नरहेको उनले बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीका अनुसार कल सेन्टरमा दैनिक २ करोड सम्मको कारोबार गरेको पाईएको बताए । “कुन कुन बैंकमा कसरी रकम जम्मा हुन्छ त्यो अनुसन्धानको बिषय हो ।” केसीले भने “यिनीहरुले कर्मचारीलाई १२ हजार देखी २५ हजार सम्म तलब दिएर राखेका थिए ।” चिनिया र भारतीय नागरिकको लगानीमा कल सेन्टर सञ्चालनमा रहे पनि अहिले मूख्य अभियुक्त भनिएका भारत बिहारका गया जिल्लाको बोधगया बस्ने २५ बर्षिय जिशाद दबङ्ग भनिने निरन्जन कुमारलाई पक्राउ गरिएको केसीले जानकारी दिए ।

निषाद संगै बिभिन्न फ्लोरमा काम गर्ने ८ जना टिम लिडरलाई पनि नियन्त्रणमा लिएको उनले बताए । बाकी १ सय ५० जना कर्मचारीहरुको मोबाईल प्रहरीले आफ्नो नियन्त्रणमा राखी उनिहरुलाई प्रहरीकै सम्पर्कमा रहने गरि घर पठाईएको प्रहरीको भनाई छ । साथै २ सय बढी कम्युटर पनि प्रहरीले नियन्त्रणमा लिई शिल लगाएको केसीले जानकारी दिए ।

“सो भवनमा हो हल्ला हुने गरेको गस्तीको क्रममा पाएका थियौ, त्यस पछि त्यसलाई निगरानीमा राखेर सुक्ष्म अनुसन्धान गरि रहेका थियौ ।” केसीले भने “कुनै पनि निकायमा दर्ता नभएको, कुनै पनि बोर्ड नरहेको अवैध रुपमा सञ्चालनमा रहेको थाहा पाएर छापा हान्यौ ।”
कुनै पनि निकायमा दर्ता नभई अवैध रुपमा सञ्चालनमा रहेकोले सरकारी वकिल कार्यालयको सहयोगमा ठगि मुद्दा, साईबर क्राईम लगायतको मुद्दा राखी अदालतमा म्याद थपको लागी पेश गर्ने तयारी रहेको केसीले बताए ।